१७ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीले इन्धन नपाएका नेपालीहरुले अब झन बढी समस्या झेल्नुपर्ने भएको छ । खाना पकाउनका लागि ग्यास र मट्टितले नहुँदा विद्युतको साहारामा खाना पकाइरहेका नेपालीले अब विद्युत कटौतीको मार समेत अझ बढी खेप्नुपर्ने भएको हो । किनभने नेपाल विद्युत प्राधिकरणले नेपालीको घरमा अब साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ।
प्राधिकरणले शुक्रबारदेखि दैनिक रुपमा लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो। नेपालमा आएको विनाशकारी भूकम्पले भत्किएका जलविद्युत गृह चलाउन कठिन भएको तथा नदीमा पानीको वहाव घटेको कारण देखाउँदै विद्युत कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अब हप्तामा नेपालीले ५७ घण्टाभन्दा बढी विद्युत कटौती मार खेप्नुपर्ने हुन्छ। यसअघि प्राधिकरणले हप्तामा ४४ घण्टा लोडसेडिङ गर्दै आएको थियो।
यता, नेपालमा भारतले लगाएको नाकाबन्दीले राजधानीसहित देशभर खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको चरम अभाव भएकाले नेपालीले थप मारमा पर्ने भएका हुन्।











