१५ मंसिर, नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले भारतीय समकक्षी र त्योभन्दा पनि तल्लो तहका व्यक्तिहरुसँग भेट्दा चाकडीको शैली देखाउँदै आएको आउने गरेको कुरा नयाँ होइन । पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले भारतीय विदेशमन्त्रीसँगको भेटमा सम्धिनी शैलीको ढोग गरेका र र हात मोलेका तस्वीरहरुले चर्चा पाएका थिए ।
तर यतिवेला हिन्दू धर्मका नाउँमा निरन्तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको निरन्तर चाकडीमा लागेका राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा समेत सचेत रहँदारहँदै स्वराजसँग झुकेका छन् । चतुर राजनीतिक खेलाडी मानिने कमल थापाले तस्वीर खिच्दा आफूलाई संयमित राख्ने कोसिस गर्दा गर्दै पनि सुष्माका अगाडि झुकेको देखिएको छ ।
धार्मिक कार्यक्रममा वैंगलोर गए पनि एकपल्ट दर्शन गर्ने भन्दै सुष्मा स्वराजको चाकडी गर्न नयाँ दिल्ली पुगेका कमल थापाले वुधबार भेटवार्ता गरेका थिए । नेपाली जनताले नाकाबन्दीको दुःख भोगिरहे पनि कमल थापा भने प्रफुल्ल मुद्रामा स्वराजसँग प्रस्तुत भएका थिए । उनको हाँसो देख्दा लाग्छ उनी यतिवेला संसारकै सबैभन्दा सुखी र खुशी व्यक्ति हुन् । खुशी नहोऊ् पनि किन उनले जिन्दगीमै नपाएको उपप्रधानमन्त्री पद जो पाएका छन् ।

सिधा हिसाबले हेर्दा कमल थापा यतिवेला खुशी हुनुपर्ने कुनै कारण देखिँदैन । उनले भन्दै आएको राजतन्त्र र हिन्दू राष्ट्रविनाको संविधान जारी भएको छ । नेपाल इतिहासमै चरम संकटमा छ । संयुक्त राष्ट्र संघले समेत भारतीय नाकाबन्दीका कारण नेपालका ३० लाख बालबालिका मृत्युको जोखिममा रहेको चेतावनी दिएको छ । तर कमल थापालाई भने यो भन्दा अर्को खुशीको क्षण कुनै नभएको देखिन्छ । यो देख्दा लाग्छ नेपालीहरु मर्न लागे भारतको इच्छा पूरा हुने भयो भनेर कमल थापाले खुशी खबर स्वराजलाई सुनाउँदै छन् ।
अर्को कुरा उनी सुष्मा स्वराजसँगको भेटमा कुर्चीमा बसेको अवस्थामा पनि तन्किएर झुकेका छन् । जबकि सुष्मा स्वराज गम्भीर मुद्रामा उनको कुरा सुनिरहेकी छिन् र झुकेकी छैनन् ।
विश्वस्त स्रोत भन्छ भारतीय विदेशमन्त्रीसँग वार्ता हुँदा कमल थापाले नेपालको समस्याका बारे जोड दिएर कुरै गर्दैनन् । उनी केवल आफू र आफ्नो पार्टीको भविष्य सुरक्षित राख्ने गरी कुरा गर्छन् । अझै पनि नेपाललाई हिन्दू राष्ट्र बनाउने आश्वासन दिएर भारतीय सत्ताधारीको समर्थन आफूतिर तान्ने कोसिस मात्र गर्छन् । फलस्वरुप जतिपल्ट भारत पुगे पनि कमल थापाले नेपालको समस्याबारे कुनै सिन्को नभाँची फर्कने गरेका छन् ।
बरु उनले चीनबाट पेट्रोलियम ल्याउनबाट रोक्न आफूले गरेको कसरतबारे समेत भारतलाई जानकारी गराउने गरेका छन् ।











