१५ मंसिर, काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि वुधबार हुने वार्तामा सरकार नझुके जे पनि हुनसक्ने चेतावनी दिएका छन् । वुधबार साँझ हुने तय भएको सत्तारुढ दल, प्रमुख प्रतिपक्षीसँगको वार्तामा सरकारले सीमांकनको स्पष्ट खाका नल्याए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता भङ्गको घोषणा गरेर चर्को आन्दोलन गर्ने चेतावनी यादवले दिएका हुन् ।

सरकारले सीमांकनको स्पष्ट खाका नल्याए आफूहरु वार्तालाई लम्ब्याएर आन्दोलनलाई अन्योलपूण नबनाउने चेतावनी दिएका हुन् । वुधबार पनि सरकार नझुके आफूहरु आन्दोलनमा मात्र केन्द्रित हुने उनले बताए ।
उनले बार्ताको नाममा अहिलेसम्म आन्दोलनलाई कमजोर बनाउने खेलमात्रै भएकोले यथास्थितिमा बार्ता अघि बढ्न नसक्ने भन्दै अब एक दुई साता जोड लगाएर बारवारको आन्दोलन गर्ने योजना उनले सुनाए ।
उनले आफूहरुसँग २४ घण्टा मात्र बाँकी रहेको र २४ घण्टापछि सरकारले खाका ल्याउन नसके त्यसपछिको परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने समेत उनको भनाइ छ ।
यसैवीच भोलिको वार्तामा यादवसहितका मोर्चाका शीर्ष नेताहरु सहभागी नहुने भएका छन । शीर्ष नेता सहभागी नहुने तर वार्ता फलदायी बनाउनुपर्ने भन्दै धम्क्याउने मधेसी नेताहरुको शैलीले तत्काल वार्ताबाट समस्या समाधानको पक्षमा उनीहरु नरहेको विश्लेषकहरु बताउँछन् ।











