१५ मंसिर, मुस्ताङ । चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले मंगलबार नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ ।
व्यवस्थापिका संसदको विकास समितिले कोरला नाकाबाट पेट्रोलियम पदार्थ लगायतका सामग्री नेपाल आयात गर्ने सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको हो । विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्यहरु, मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारी र सुरक्षा अधिकारीसहितको टोली सोमबार सदरमुकाम जोमसोम हुँदै सीमाक्षेत्र पुगेका थिए ।

भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेका सन्दर्भमा नाका सञ्चालन गर्न संसदीय टोली सक्रिय बनेको छ ।
टोलीले नाकाको अवस्था, सञ्चालन गर्नका लागि तयार गर्नुपर्ने पूर्वाधार, सडक तथा चिनियाँ पक्षको सुरक्षा चासोको विषयमा अनुगमन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
‘विकास समितिले यसअघि रसुवाको केरुङ नाकाका बारेमा पनि अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ । बाह्र वर्षदेखि बन्द अवस्थामा रहेको कोरला नाकासम्म कालीगण्डकी करिडोर अन्तर्गत सडकको पहुँच पुगेको छ ।
चिनियाँ पक्षको सुरक्षा चासोलाई सम्बोधन गर्न सके सरकारका लागि सामान आयात निर्यातका लागि कोरला भरपर्दो नाका हुने बताइएको छ । टोलीले कोरला नाका संचालनको सम्भावना र चुनौतिबारे बुधबार जोमसोममा बृहत् अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
‘नाकाबारे विस्तृत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने समितिका सभापति अधिकारीले जानकारी दिए । प्रजिअ अधिकारीले संसदीय समितिको चासोपछि स्थानीयवासी उत्साहित भएको जानकारी दिए ।
उपल्लो मुस्ताङका– ६ गाविसका सर्वसाधारणलाई निर्बाध रुपमा आवतजावतको व्यवस्था भए पनि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । वर्षको दुई पटक आयोजना हुने दुईदेशीय व्यापार मेला पनि अहिले चिनियाँ पक्षकै कारण वर्षमा एक पटक मात्रै हुँदै आएको छ ।
कोरला नाका चीनसँगको व्यापारका लागि सबैभन्दा बढी उपयुक्त नाका भएको विश्लेषण हुँदै आएको छ ।











