१५ मंसिर, काठमाडौं । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै संसदमा नारावाजी भएको छ । नेमकिपा लगायतका दलले भारतीय नाकाबन्दी र नेपालमाथिको हस्तक्षेपको विरोध गर्दै नारावाजी गरेका हुन् ।
अर्कोतर्फ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सभामुखले बोल्ने समय दिन लाग्दा मधेसी मोर्चाका सांसदहरुले संसद अवरोध गरेका छन् । अवरोधपछि व्यवस्थापिका संसदको बैठक आइतबारसम्म स्थगित भएको छ। यसअघि मधेसी मोर्चाका उपेन्द्र यादवलाई बोल्ने समय दिएको भन्दै कांग्रेसले संसद अवरोध गरेको थियो ।

मंगलबारको बैठकमा मोर्चामा आवद्ध दलका सांसदले आधाघण्टासम्म संसदमा नाराजुलस गरेपछि सभामुख ओनसरी घर्तीले २० गते आइतबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइन्।
सभामुख घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उभिएर समय माग गरेका थिए। त्यसपछि उनले कांग्रेसका फरमुल्हा मन्सुरलाई बोल्न समय दिएपछि मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दैं वेल घेराउ गर्न पुगेका थिए।
मोर्चाका सांसदले नाराबाजी गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसदहरु पनि नाराबाजीमा उत्रिएका थिए।
सांसदहरु प्रेम सुवाल र अनुराधा थापामगरले ुआत्मसर्मपण गर्दैनौं, नेपालको संविधानमा हस्तक्षेप गर्ने भारत को होरु, सुनसरीमा गोली हान्ने भारतीय प्रहरीलाई कारबाही गरु जस्ता नारा लगाएका थिए।
उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउ जस्ता नारा लगाएका थिए। मधेसी मोर्चाले सरकार विरुद्ध नारा लगाउँदै ुमधेसी जनतामाथिको दमन अन्त्य गर्न, उनीहरुको माग सम्बोधन गर्न माग गरेका थिए।











