१४ मंसिर, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमाले यतिवेला मधेसी मोर्चाको ज्यादतिविरुद्ध राजधानीदेखि मधेससम्म लागिपरेको छ । सोबारमात्रै राजधानीमा नागरिक, युवा, विद्यार्थी, चलचित्रकर्मीलगायतलाई सडकमा उतारेर मानव साङ्लो प्रदर्शन गरेको एमालेले मधेसका जिल्लामा भएको भारतीय घुसपैठका विरुद्धमा रणनीति तय गर्नका लागि तराईका जिल्ला संगठनको भेलाको आयोजना गर्ने भएको छ ।
तराई मधेसमा भइरहेको आन्दोलन र सीमाङ्कनमा देखिएको विवादबारे पार्टीको धारणा बनाउन एमालेले तराईका २२ जिल्लाका नेताहरूको भेला चितवनमा आह्वान गरेको हो । आन्दोलनका नाउँमा भारतले चलाएको योजनाबारे समेत सो भेलामा गम्भीर छलफल गर्ने तयारी एमालेले गरेको छ ।

नेकपा एमाले केन्द्रको आयोजनामा तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारीहरूको भेला मंसिर १९ र २० गते चितवनमा हुने भएको हो । भेलामा २२५ जना सहभागी हुनेछन् ।
भेलाको उदघाटन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले ओलीले गर्ने एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिएका छन् । भेलाको व्यवस्थापन, स्थान निर्धारणको जिम्मा जिल्ला कमिटी चितवनलाई दिइएको छ ।
त्यसका लागि एमाले चितवनका अध्यक्ष थपलियाको नेतृत्वमा पार्टी पदाधिकारी र सचिवालय सदस्य रहने गरी ७ सदस्यीय मुल व्यवस्थापन समिति र जिल्ला इन्चार्ज कृष्ण खनालको नेतृत्वमा देवी ज्ञवाली, बिष्णु घिमिरे, झिल्लु तिवारी लगायतको परामर्श समिति गठन गरिएको छ ।
यसअघि एमालेले संविधानको अधिकारबारे मधेसी जनतालाई जानकारी दिने गरी बधाइ तथा चियापानको कार्यक्रम गर्ने योजनासहित सांसद र जिल्ला नेतालाई मधेसमा पठाएको थियो । तर त्यसमा जिल्ला पार्टी कार्यालय असफल भएपछि पश्चिम तराईमा माधव नेपाल र पूर्वी तराईमा ईश्वर पोखरेललाई जनचेतना तथा पार्टी सुदृढीकरण अभियानमा एमालेले पठाएको थियो । नेता माधव नेपाल मध्यपश्चिमको भ्रमणमा एकहप्ता भन्दा बढी विताएर फर्किएका छन् ।











