१४ मंसिर, काठमाडौं । इन्धनमा भारतसँगको निर्भरता अन्त्यका लागि चीनसँग जोडिने सडक विस्तार गर्ने योजना सरकारले अगाडि सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्म दुई लेनको द्रुत सडक बनाइने बताए ।

अर्थमन्त्री पौडेलले गल्छीबाट बेत्रावती— मैलुङ हुँदै रसुवागढीसम्म २ वर्षभित्र दुई लेनको कालोपत्रे सडक बनाउने दावी गरे । उनले यस बारेमा आफूले सरोकारवाला मन्त्रालयका उच्च अधिकृतहरुसँग छलफल गरिरहेको र केही दिनभित्रै मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए । अर्थमन्त्री पौडेलले केही दिनपहिले मात्र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारसँगै रसुवागढी नाकाको अवलोकन गरेका थिए । अर्थमन्त्री पौडेलले बेत्रावतीबाट राम्चे, मूलखर्क हुँदै धुन्चे जाने सडकको भौगोलिक अवस्था राम्रो नरहेको र दूरी पनि लामो भएकाले आफू बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेसीसम्म सडक खोल्नुपर्ने पक्षमा रहेको बताए ।
बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेसीसम्मको दूरी २८ किलोमिटर छ । मन्त्री पौडेलले बेत्रावती—स्याफ्रुबेसी खण्डमा ६ किलोमिटर ट्रयाक खोल्न बाँकि रहेको भन्दै नेपाली सेनालाई ट्रयाक खोल्ने जिम्मेवारी दिने बताए । संसद्को विकास समितिले आइतबार मात्र रसुवागढीलाई अन्तर्रााष्ट्रिय नाकाको रुपमा विकास गर्नका लागि बेत्रावती—धुन्चेको सट्टा बेत्रावती—स्याफ्रुबेसी सडकलाई उच्च प्राथमिकता दिएर द्रुत गतिमा काम गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाएको थियो ।
अर्थमन्त्री पौडेलले भारतको नाकाबन्दी अन्त्यका लागि सरकारले राजनीतिक र कुटनीतिक तवरमा वार्ता गरिरहेको भन्दै वार्ताको छिट्टै परिणाम देखिने दावी गरे ।











