१४ मंसिर, काठमाडौं । नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न भन्दै युवाहरुले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेका छन् । युवाहरुको सक्रियतामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि विद्यार्थीसम्म सहभागी थिए । चलचित्रकर्मी, लेखक बुद्धिजीवी लगायतले नेपालको झण्डा बोकेर पारवहन हाम्रो हक हो भन्ने नारा लगाएका थिए । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल, पूर्वमन्त्री लालबाबु पण्डित लगाएतका एमाले नेताहरु कार्यक्रममा सहभागी थिए । चलचित्रकर्मी राष्ट्रिय अभियानले कलाकारहरुको संयोजन गरेको थियो । वरिष्ठ तथा चर्चित चलचित्रकर्मीहरु समेत मानव साङ्लोमा सहभागी भएका थिए ।

राष्ट्रिय स्वाधीनता अभियानले ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नाराका साथ सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाएको हो ।
प्रदर्शनकारीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा, भारतीय नाकाबन्दीको विरोधमा बिभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर लिएका थिए । संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
मानव सांग्लो अभियानाको नेतृत्व एमाले तथा एमाओवादी युवा नेताहरुले गरेका थिए ।











