१४ मंसिर, काठमाडौं । सत्तारुढ दल, मुख्य विपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच त्रिपक्षीय वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ ।
मधेसकेन्द्रित दलले प्रदेशको सीमांकन हेरफेर, समानुपातिक÷समावेशी प्रतिनिधित्व लगायतका मागसहित मधेशका जिल्लामा आन्दोलन थालेको एक सय दिन भन्दा बढी भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन पक्ष वार्तामा बसेका हुन् । सरकारले मधेशवादी दलसँग पटक पटक वार्ता गरे पनि प्रधानमन्त्री ओली भने जिम्मेवारी सम्हालेपछि पहिलो पटक मधेसकेन्द्रित दलसँगको वार्तामा वसेका हुन् ।
वार्तामा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् । वार्तामा जानुअघि कांग्रेस सभापति कोइरालाले आजको वार्ता निर्णायक हुने प्रतिक्रिया दिएका थिए ।
आन्दोलनकारी दलहरुका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय वार्तामा सहभागी हुनुहुन्छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार समेत सहभागी वार्तामा सरकारी वार्ता टोलीका संयोजक कमल थापा भने अनुपस्थित छन् । वार्तामा मधेसी दलहरुको आन्दोलन, भारतको नाकाबन्दी, प्रदेशको सीमांकन हेरफेर लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।












