१४ मंसिर, काठमाडौं । सरकारले आज मधेसी मोर्चासँग वार्ता गर्ने भएपछि मोर्चाले आफ्नो अवधारणा बनाउन विराटनगरमा आन्तरिक बैठक गर्दै छ । काठमाडौंमा सरकार र प्रमुख दलसँग अपरान्ह हुने वार्ताका लागि ११ बजे विराटनगरमा मोर्चाको बैठक गर्न लागिएको हो काठमाडौंमा हुने वार्तालाई दवाव दिने रणनीतिअनुसार मोर्चाले विराटनगरमा बैठक गर्न लागेको जनाइएको छ । आन्दोलनको समीक्षा गर्दै नयाँ कार्यक्रम तय गर्न बस्ने भनिएको बैठक मूलतः वार्ताको दवावका लागि नै केन्द्रित हुने स्रोतले बताएको छ ।
विराटनगरको बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादवसहित मोर्चा आवद्ध दलका मोरङ अध्यक्षलगायत प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओलीले बोलाएको अपरान्हको बैठकका लागि सत्तारुढ दल, प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चा तिनै पक्षले गृहकार्य गरेको बुझिएको छ ।












