१४ मंसिर, काठमाडौं । भारतले गरेको नाकाबन्दी नखुली आफूले भारत भ्रमण नगर्ने अडान प्रधानमन्त्री केपी ओलीले लिएका छन् । आफ्ना दूतका रुपमा भारत पुगेका एमाले सचिव प्रदीप ज्ञवालीमार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् । भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।

भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन दिल्ली पुगेका ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई ओली भ्रमणमा ननिस्कने सन्देश सुनाएका थिए ।
‘यतिखेर प्रधानमन्त्री ओलीको मुख्य चासो भनेको नेपाली जनताले अनाहकमा बेहोर्नुपरेको पीडालाई सम्बोधन गर्नेतर्फ छ,’ दिल्ली पुगेका नेता ज्ञवालीले भने, ‘भारत भ्रमणको औपचारिक निम्तो लिएर आउने दूतलाई ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णतः खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्यो ।’
नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतको गर्नुपर्ने मानसिकता नेताहरुमा रहेको पाइन्छ । खेलकुदमा सहभागी हुन जाने क्रममा एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण चीन गरेका थिए । पहिले भारतमा नआएको भन्दै भारतले त्यसपछि प्रचण्डलाई सरकारबाट हटाउने षडयन्त्र सुरु गरेको थियो । अन्ततः प्रभुहरुसँग घुँडा टेक्दिनँ भन्दै प्रचण्डले पदबाट राजिनामा दिएका थिए ।
अहिले प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिलाई समेत संवेदनशील मानिएको छ । भारतले ओली सरकार ढाल्ने योजना बनाइरहेको अवस्थामा ओलीको यो अडान आउनुले ओली सरकार ढल्ने समय नजिकिएको विश्लेषण हुन थालेको छ । तर सरकार ढले पनि ढलोस् भन्दै राष्ट्रियताको पक्षमा देखिएको ओलीको अभिव्यक्तिको भने सबैले प्रशंसा गरेका छन् ।











