१३ मंसिर, काठमाडौं । मधेसी दलहरुको माग बारे छलफल गर्न सरकारले सोमबार वार्ता गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलका मागहरुबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता आह्वान गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने भएको हो । यसअघि कांग्रेससहित वार्ता आह्वान गरे पनि सोही दिन विहान कांग्रेसले पदाधिकारी बैठक गरेर वार्तामा नजाने बताएको थियो ।
मधेसी दलसँग सरकारी वार्ता टोलीले पटकपटक गरेको यसअघिको वार्ता असफल भएको सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीसहितको वार्ता बोलाएका हुन्।
यसअघिको वार्तामा काँग्रेस सहभागि नभए पनि काँग्रेसबिना समस्या समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्नै अग्रसरतामा काँग्रेससहितको वार्ता आह्वान गरेका हुन्। तर कांग्रेस भने आफैं सर्वेसर्वा हुने योजनासहित सरकार र मधेसी दलहरुलाई वार्तामा बोलाउने कसरतमा लागको छ । यसअघि पनि कांग्रेसले मधेसी दल र सरकारलाई वार्तामा बोलाएकोमा प्रधानमन्त्री ओली अनुपस्थित रहेर विजय गच्छदारलाई पठाएका थिए ।
भारतले ओली सरकारलाई सामथ्र्यरहित बनाउन कांग्रेसलाई वार्ताको पहल गर्न र सरकारले बोलाएको वार्तामा नजान निर्देशन दिँदै आएको छ । प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालालाई जिताउन नसकेपछि भारतले हरेक कदममा निहुँ खोजेर सरकारलाई असफल पार्न निर्देशन दिएको छ । फलस्वरुप कांग्रेसले संसदमा समेत विनाकारण निहुँ खोजेर अवरोध सिर्जना गरेको थियो ।












