१२ मंसिर, सप्तरी । मधेसमा जारी आन्दोलनका क्रममा मंसिर ५ गते सप्तरीमा मृत्यु भएका चार जनाको आज शवयात्रा निकालिएको छ । प्रहरीको गोली लागी मृत्यु भएका तीन जनासहित चार जनाको पार्थिव शरीरमाथि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेताहरुले श्रद्धाञ्जलि दिए लगत्तै शव यात्रा निकालिएको छ ।

हजारौंको सहभागितामा राजविराजबाट निकालिएको शव यात्रा सिरहाको लहानसम्म पुगेर पुनः सप्तरी फर्की कञ्चनपुर नगरपालिका, भारदह, हनुमाननगर हुँदै राजविराजमा पुगेर टुंगिएको थियो । शव यात्रापश्चात मृतकहरुको आजै अन्तिम संस्कार गरिएको छ ।
५ मंसिरमा प्रहरीले चलाएको गोली लागेर रुपनीमा जमुनी मधेपुरा गाविसका नागेश्वर यादव, भारदहमा डाढा गाविस ५ का बिरेन राम, ६ मंसिरको साँझ राजविराजमा चलाएको गोली लागेर राजविराज १ का दिलिप साह र आन्दोलनका क्रममा भागदौडमा परी करेन्ट लागेर जमुनी मधेपुरा गाविसकै शिवशंकर दासको मृत्यु भएको थियो ।











