१० मंसिर, विराटनगर । मोरङको भाथिगछ गाविस–७ का बब्लु राजवंशीमाथि पेट्रोल छर्केर आगो लगाउने व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । आफन्तले दिएको किटानी जाहेरीका आधारमा तीन जनाउपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको मोरङ प्रहरीले जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मोर्चासम्बद्ध भनिएका भातीगछ–२ का अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखियाविरुद्ध ज्यानमुद्दा दर्ता भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए । कुशमाहा भारतबाट १५ लिटर पेट्रोल लिएर आउँदै गर्दा उनीहरूले रोकेका थिए ।
जर्किनमा छुरा हानी पेट्रोल छर्केर राजवंशी सवार को १ ख २४५० नम्बरको मोटरसाइकलमा राजवंशीलाई आगो लगाइएको थियो । तिनै जना अहिले फरार छन् । फरारको खोजी भइरहेको प्रवक्ता खरेलले बताए ।
राजवंशीको दुबै खुट्टा, छाती, पेट लगायत स्थानमा आगोले क्षति पुर्याएको छ । कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि राजवंशीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।











