११ मंसिर, काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र नबनाएसम्म भारतले नाकाबन्दी सहज नबनाउने दावी हिन्दू अभियान्ताहरुले गरेका छन् । भारत सरकारको उच्च ओहोदामा कार्यरत नेपाली मूलका एक हिन्दू अभियन्ता विष्णुप्रसाद बरालले भारतको मुख्य रुचि नेपाललाई हिन्दू राष्ट्र बनाउनु भएको नेपालदेश डटकमलाई बताए ।
भारतको यो ईच्छाबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले जानकारी गराएको दावी समेत उनले गरे । ओली प्रधानमन्त्री बनेको केही दिनमा नै नेपाल आएका बरालले भारतीय उच्च स्रोतको सहयोगमा प्रधानमन्त्री निवास वालुवाटारमा एक्लै भेट गरेका थिए ।
भारतस्थित विभिन्न हिन्दू संघसंस्था र कालीबाबासँगको सहकार्यमा बरालले केही समय पहिले दिल्लीमा नेपालको संविधानविरुद्ध प्रदर्शन समेत गरेका थिए । जन्तरमन्तरमा आयोजित विरोध कार्यक्रममा नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै बरालकै नेतृत्वमा नेपालको संविधान र प्रमुख नेताको पुत्ला समेत जलाइएको थियो । आफ्नो आन्दोलनमा पतञ्जलि योगपीठका आचार्य बालकृष्णको समेत साथ रहेको बरालको भनाइ छ ।
मधेसमा चलेको आन्दोलनाका नाउँमा भारतले अघोषित नाकाबन्दी गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीको भित्री इच्छा नेपाललाई हिन्दू राष्ट्र बनाउनु नै रहेको बराल दावी गर्छन् । यो सरकारलाई अप्ठेरोमा पार्न शुक्रबारदेखि भारतले इन्धन आपूर्तिमा अझै कडाइ गर्ने तयारी गरेको उनी बताउँछन् ।














