९ मंसिर, काठमाडौं । उद्योगपति तथा श्री एयरलाइन्सका अध्यक्ष बनवारीलाल मित्तलको बुधबार बिहान निधन भएको छ । विगत तीन महिनादेखि अस्वस्थ रहेका मित्तललाई भारतको मेदान्त अस्पतालमा उपचार गराएर गत सोमबार मात्रै नेपाल ल्याइएको थियो । उनको बुधबार बिहान एक बजे निधन भएको हो । काठमाडौंको ज्ञानेश्वरका ७९ वर्षीय मित्तलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

नेपालकै ठूलो हेलिकप्टर कम्पनी श्रीएयरलाइन्स उनले १६ वर्षअघिदेखि सञ्चालनमा ल्याएका थिए । उनी नेपाल चेम्बरअफ कर्मसमा दुई पटक अध्यक्षमा चुनिएका थिए भने नेपाल निर्माण व्यवसायी संघ (हालको नेपाल निर्माण व्यवसायी महासंघ)का संस्थापक अध्यक्ष हुन् ।
उनी मारबाडी सेवा समिति नेपालको पूर्व अध्यक्ष, नेपाल आँखा अस्पतालको संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, नेपाल उद्योग महासंघ र नेपाल उद्योग परिसंघको कार्यकारी सदस्य भएर काम गरेका थिए ।











