कन्हई यादव
८ मंसिर, भैरहवा । आन्दोलरत मधेसी मोर्चा र नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीहरु नै खाद्यान्नलगायतका सामग्रीको कालोबजारीमा सक्रिय रहेको तथ्य फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव नेत्र आचार्यको पसलमा छापा मारी अवैध भण्डारण गरी राखेको ठूलो परिमाणको खाने तेल बरामद गरेपछि यस्तो रहस्य खुलेको हो । पक्राउ परेका आचार्यले मधेसी मोर्चाका कार्यकर्तासँगको मिलेमतोमा आफूले काम गरेको बताएका छन् ।
भारतबाट अवैध रुपमा भन्सार छली गरीचार्यले भैरहवा गल्लामण्डी स्थित आफ्नो पसल न्यू पवित्रा स्टोर्समा खाने तेल भण्डारण गरीराखेका थिए । तेलको अवैध कारोबारीहरु बिच नै कुरा नमिले पछि उनिहरुले अवैध तेलबारे प्रहरीलाई सुराकी दिएको श्रोतको भनाई छ । सुराकीको आधारमा छापा मारेको प्रहरीले बिभिन्न ब्राण्डका भारतीय कम्पनीका खाने तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नाउब उपरिक्षक रामेश्वर कार्कीले आचार्यको पसल न्यु पवित्रा स्टोर्सबाट १ हजार ११ कार्टुन तथा गल्लामण्डीमै रहेको कृष्णप्रसाद पौडेलको शाभो स्टोर्सबाट १ सय ३८ कार्टुन तेल बरामद गरेको बताए । बरामद गरिएको तेललाई थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइने प्रहरीको भनाई छ । ठूला परिमाणमा रहेको खाने तेल समाचार तयार पार्दासम्म पनि प्रहरीले बरामद गर्ने प्रक्रियमै रहेको छ ।
बजारमा खाने तेलको चरम अभाव भई रहेको समयमा आचार्यले अवैध भण्डार गरी महङ्गो मूल्यमा बिक्री बितरण गर्ने गरेको स्थानियहरुले आरोप लगाएका छन । भैरहवाको गल्लामण्डीमा यस्ता कारोबार गर्नेहरु दर्जन बढी रहे पनि प्रहरीले उनिहरुमाथी कार्यवाही गर्न कुनै तत्परता नदेखाएको स्थानियहरुको गुनासो छ ।
यता उद्योग बाणिज्य संघका सचिव नेत्र आचार्यले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूलाई नियतवश फसाएको आरोप लगाएका छन । राज्यमै खानेतेलको अभाव भएको अवश्थामा आफुले भारतबाट साईकलमा ल्याउनेहरुसँग खरिद गरी आपूर्तिमा सहयोग मात्र गरेको बताए । मोर्चाले बन्दको क्रममा पसल बन्द नगरेको भन्दै आफुलाई फसाएको आचार्यको दावी छ । उनले मोर्चाका कार्यकर्ता आफै पनि अवैध तेलको कारोबारमा लागेको आरोप समेत लगाए














