७ मंसिर, सिरहा । सुरक्षा घेरामा सवारी साधन गन्तव्यतिर पठाएको भन्दै त्यसलाई रोक्न सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी तितरबितर बनाएको विरोधमा आज बिहानदेखि भएको प्रदर्शन उग्र बन्दै गएपछि सिरहामा नेपाली सेनालाई हाइ एलर्टमा राखिएको छ ।
सोमबार साँझ सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको अवस्थाको आधारमा स्थानीय प्रशासन ऐनले दिएको अधिकार अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने अधिकार आफूलाई दिएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वि.क.ले जानकारी दिए ।

सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई बल प्रयोग गरेर हटाएको विरोधमा लहानमा आज बिहान सवा ११ बजेतिर इलाका प्रहरी कार्यालय अगाडि टायर बालेपछि शुरु भएको प्रदर्शनकारी र प्रहरीबीचको झडप केही बेरअघिसम्म चलेको थियो ।
झडपको क्रममा प्रहरीले मोर्चाका लहान संयोजक कृष्णबहादुर यादवसहित आधा दर्जन सर्वसाधारणलाई कुटपिट गरी घाइते बनाएको मोर्चाले जनाएको छ । प्रहरीले लहानस्थित विशाल होटल अगाडि उभिरहेका संयोजक यादवसहित नजिकै रहेको आइएमइ मनि ट्रान्सफरमा रकम झिक्न आएका सर्वसाधारण, खाजा पसलमा चिया खान बसेका व्यक्तिहरुलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम के.सी.ले प्रहरीलाई ताकेर ढुङ्गामुढा गर्न थालेपछि प्रदर्शनकारीहरुलाई धपाउन सामान्य बल मात्र प्रयोग गरेको तर सर्वसाधारणलाई केही नगरेको दावी गरे । त्यति गर्दा पनि नटेरेपछि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन सात राउण्ड हवाई फायर र केही सेल अश्रु गयाँस प्रहार गरेको प्रहरी नायव उपरीक्षक के.सी.ले उल्लेख गरे । त्यस्तै, सिरहाको गोलबजार, चोहर्वा, मिर्चैयामा पनि दिनभर प्रहरी र प्रदर्शनकारीबीच पटक पटक ढुङ्गा हानाहान भएको छ ।











