७ मंसिर, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम पदार्थको कालोबजारीमा नेपाल आयल निगमका उच्च अधिकृतहरुको संलग्नता भएको हुनसक्ने बताएका छन् । वाणिज्य तथा आपूर्तिमन्त्री पुनले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा इन्धनको कालोबजारीमा निगमका उच्च अधिकृतहरुको संलग्नतालाई आफूले नकार्न नसक्ने बताए । समितिका सदस्यहरुले इन्धनको कालोबजारीलाई निगमले प्रोत्साहन दिएको भन्दै दोषीमाथि कारवाहीको माग गरेपछि विभागीय मन्त्री पुनले कर्मचारीको संलग्नतालाई नकार्न नसक्ने तर निगमले नीतिगत रुपमा नै कालोबजारी गरेको आरोप भने सरासर गलत भएको बताए ।

भारतको नाकाबन्दीपछि उत्पन्न अभावलाई कारण देखाएर सीमित परिमाणमा डिजेल र पेट्रोल वितरण गर्दै आएको निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले नै काठमाडौंमा इन्धनको कालोबजारी गरेको समेत आशंका गरिएको छ । केही समय पहिले एउटा निजी कम्पनीलाई १२ हजार लिटर डिजेल दिने कार्य उनले गरेका थिए । काठमाडौ उपत्यकाका गल्ली गल्लीमा प्रतिलिटर ५ सय रुपैयाँसम्ममा पेट्रोल विक्री हुन थालेपछि निगमका प्रबन्ध निर्देशक खड्कामाथि निजी पेट्रोल पम्पसँग मिलेर कालोबजारी गरेको आरोप लागेको छ । लेखा समितिले कालोबजारी भएको कुरा प्रमाणसहित आएकाले कालोबजारीमा संलग्नलाई एक साताभित्र कारवाही गरेर जानकारी गराउन वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई निर्देशन दिएको छ ।











