७ मंसिर, विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिकिस्त विरामी तीन महिने शिशु बोकेको एम्बुलेन्सलाई अवरोध गरेपछि शिशुको बाटैमा मृत्यु भएको छ । आन्दोलनकारीले शिशु बोकेको एम्बलेन्सलाई अवरोध पुर्याएका कारण शिशुको मृत्यु भएको हो ।
उदयपुर जिल्ला अस्पताल गाईघाटबाट उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज ल्याउँदै गरेको शिशुको एम्बुलेन्समै मृत्यु भएको हो ।
गाईघाट अस्पतालले थप उपचारका लागि नोबेल रेफर गरेका त्रियुगा नगरपालिका–१५ का तीन महिनाका शिशु पदमबहादुर बुढाथोकीको बाटैमा मृत्यु भएको हो ।
निमोनिया भएर गम्भीर विरामी शिशुलाई उपचार असम्भव भएपछि जिल्ला अस्पताल गाईघाटले तत्काल थप उपचारका लागि नोबेल अस्पताल लैजान सल्लाह दिएको थियो ।
उदयपुर अस्पतालको सल्लाहअनुसार शिशुलाई नोबेल लाने क्रममा मोर्चाले अवरोध गरेपछि बाटैमा मृत्यु भएको आफन्त राजन खड्काले बताए । बाटोमा कुनै पनि अवरोध नभएको भए समयमा उपचार पाएर शिशुको ज्यान बच्ने खड्काको भनाइ छ ।
शिशुलाई लिएर आएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था गाईघाटको एम्बुलेन्सलाई मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह, कन्चनपुर लगायतका स्थानमा पटक पटक अवरोध गरेका थिए ।
मोर्चाका कार्यकर्ताले एक घण्टा भन्दा बढी समय अवरोध गर्दै एम्बुलेन्सलाई नियन्त्रणमा लिएर अगाडि बढ्न नदिँदा यो अवस्था आएको चालक मेहेबुब राजाले बताए ।
लामो समय सम्म अवरोध गरिसकेपछि बिरामीका आफन्तले गरेको अनुनयविनय पछाडि मोर्चाका कार्यकर्ताले बिरामी शिशु बोकेको एम्बुलेन्स छाडिदिएको चालक राजाको भनाइ छ । राजाका अनुसार सुनसरीको हरिपुर आइपुगेपछि शिशुको मृत्यु भएको हो ।
‘बच्चा सिकिस्त छ । छाडिदिनुपर्यो भनेर भन्दापनि लामो समय सम्म अवरोध गरिरहे,’ उनले भने, ‘निक्कै बेर पछि छाडे, तर बच्चालाई जीवितै अस्पताल पुर्याउन सकिएन ।’
उपचारका लागि ल्याइएको शिशुको बाटोमा भएको अवरोधका कारण समयमा अस्पताल पुर्याउन नपाउँदा मृत्यु भएपछि आफन्तलाई पीडा थपिएको चालक राजाको भनाइ छ ।
मोर्चाका कार्यकर्ताले आफूलाई समेत धम्की दिएर एम्बुलेन्स तोडफोडको प्रयास गरेको उनको भनाइ छ ।












