५ मंसिर, बिराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले गम्भीर विरामी बोकेको एम्बुलेन्समा तोडफोड गरेका छन् । अक्सिजन लगाएका विरामी लिएर गुडेको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा आक्रमण गरेका छन् । आक्रमणमा परी एम्बुलेन्स चालक घाइते भएका छन् ।
बिराटनगरस्थित गोल्डेन अस्पतालबाट अक्सिजनसहितका गम्भीर विरामी लिएर पा जाँदै गरेको को १ च ४५१५ नम्बरको एम्बुलेन्समाथि मधेसी मोर्चाका कार्यकर्ताले दुहबी ७ स्थित ढकाल चोकमा तोडफोड गरेका हुन् । गाडीमा संखुवासभाका विरामी शरध्वन तामाङ थिए । उनको अवस्था निकै गम्भीर भएको र अक्सिजन मास्क समेत लगाइएको थियो ।
तर, मोर्चाका कार्यकर्ताले एम्बुलेन्समथि नै आक्रमण गरेका छन् । मधेसी मोर्चाको आक्रमणमा परी एम्बुलेन्स चालक आनन्दा विक घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
एम्बुलेन्समा आक्रमण भएको खबर पाएपछि पुगेको प्रहरीले उनीहरुलाई उद्धार गरेको छ । त्यस क्रममा प्रहरीले हवाई र अश्रुग्याँस फायर गरेको थियो । भीड नियन्त्रणमा लिने क्रममा प्रहरी जवान मातृका खतिवडा सामान्य घाइते भएका छन् ।घाइतेलाई उपचारको लागि सामुदायिक अस्पताल दुहबी हुँदै एम्बुलेन्समा राखेर धरान पठाइएको प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार पनि मोरङको रंगेलीमा घाइते बोकेको एम्बुलेन्समा तोडफोड गरेका थिए ।












