५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै ठूलो कला र बुद्धिको प्रयोग गरेर सरकारसँग संविधान साटिएको टिप्पणी खुलासा गरेका छन् । शनिबार एकीकृत माओवादी कीर्तिपुर नगर कमिटीले नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
आफूहरुलाई जसरी पनि जनताको संविधान जारी गर्नुपर्ने भएकाले सरकारसँग संविधान साटिएको दावी उनले गरे । कांग्रेस र एमालेलाई संविधान भन्दा सरकार नै प्यारो भएको विगतदेखि नै देखिएको भन्दै उनले कांग्रेस र एमालेको मनोविज्ञानलाई आधार बनाएर संबिधान जारी गर्न आफूहरु सफल भएको दावी गरे । संविधान जारी गर्न नदिन आफ्नो दलका मधेसी तथा थारु सभासद्हरुलाई करोडांैमा खरिद गर्ने प्रस्ताव आएको पनि प्रचण्डले खुलासा गरे ।
आफ्नो दल छाडेर गएका बाबुराम भट्टराई लगायतका नेताहरु छिट्टै नै फर्कने दावी समेत प्रचण्डले गरे । छुटिएर गएकाहरु एकतामा नआए उनीहरु खलनायक कहलिने ठोकुवा गरे ।












