५ मंसिर, काठमाडौं । आफैले बनाएको संविधानप्रति अन्तुष्टी जनाएर संविधानसभाबाट बाहिरिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेसमा जारी आन्दोलन आन्दोलनकारीको हातबाट फुत्कँदै गएको बताएका छन् । तराईको आन्दोलन अराजक बन्दै गएको र नेतृत्व गरिरहेका छौं भन्ने दलहरुको नियन्त्रणमा त्यो नरहेको उनले बताए । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा भट्टराईले भारतले नाकाबन्दी गरेर नेपाल मामिलामा हस्तक्षेप गर्न खोजेको समेत उल्लेख गरे ।

नेपालमा यो स्थिति आउने भन्दै भट्टराईले संविधान जारी गर्ने बेलामा नै आफूले सचेत गराएको तर, ठूला नेताहरुले नसुनेको गुनासो गरे । संविधान कुनै एक पक्षले भने जस्तो नहुने भएपनि समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा प्रतिनिधित्व र संघीय प्रदेशको सीमांकन विगतका सहमतिभन्दा फरक भएको उनले बताए ।
सानो निहुँबाट सुरु भएको आन्दोलन कति विकराल हुन्छ भन्ने माओवादी जनयुद्धले देखाएको उदाहरण दिँदै भट्टराईले अहिलेको अवस्था पनि त्यस्तै भएको बताए ।
भट्टराईलाई भारतपरस्त भनी लाग्ने गरेको आरोपतर्फ लक्षित गर्दै उनले आफू अन्ध राष्ट्रवादी नभई देशभक्त भएको दावी गरे ।











