४ मंसिर, काठमाडौं । मानिसलाई झुक्याएर मार्ने षडयन्त्र कसैले गरेको छ भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको छ भन्ने कुरा फेरि एकपल्ट प्रमाणित भएको छ । विहीबार अपरान्ह औषधि भित्र्याउन दिने निर्णय गरेको मोर्चाले केही घन्टा नबित्दै औषधि बोकेको ट्रकमा आगो लगाएका छन् । गएराति वीरगन्जमा औषधि बोकेको ट्रकमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका हुन्। ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो ।
राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् । वीरगन्ज उपमहानगरपालिका -१४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
आगजनीको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । वीरगन्ज बरुण यन्त्रको सहयोगमा आगजनी नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए । स्लाइन पानी मार्फत दिइने एन्टीबायोटिक औषधी जनकपुरका लागि लोड गरिएको व्यवसायीले जनाएका छन् ।












