४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारबाट पुँजी बजार ओर्लिएको छ । विहीबार बजार बन्द हुँदा नेप्से ४।६८ अंकले ओर्लिएर १०९४ अंकमा रोकियो ।

कारोबार रकम पनि २० करोड ३७ लाखमा सीमित भयो । बुधबार नेप्से र कारोबार रकम दुबैमा सुधार देखिएको थियो । कारोबार हुने सस्थाको संख्या पनि थोरै छ । बिहीबार जम्मा एक सय ११ कम्पनीको मात्रै कारोबार भएको छ ।
पुँजी बजारलाई नाकाबन्दीको असर परेको लगानीकर्ता बताउँछन् । लगानीकर्ताहरु थप पैसा सेयर किन्न प्रयोग गरिरहेका छैनन् । ब्रोकर कार्यालयमा लगानीकर्ताको उपस्थितिनै थोरै रहेको ब्रोकरहरु बताउँछन् ।
बैंक तथा वित्तीय सस्थाहरुले पहिलो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अधिकांस कम्पनीहरुले नाफा बढाएको देखिएको छ । तर यसको असर पुँजी बजारमा परेको छैन ।
विहीबार वित्तीय विवरण सार्वजनिक गर्ने हिमालयन बैंकले सेयर मुल्य पनि थोरै घट्यो । अन्य ठूला बैंकहरु नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, एनसीसी, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू लगायतको सेयर मुल्य घट्यो ।
अपी हाइड्रोपावर, सानिमा माई हाइड्रो, अरनिको डेभलपमेन्ट बैंक, रिलायवल डेभलपेमन्ट बैंक जस्ता कम्पनीहरुको सेयर मुल्य भने बढेको छ । साना सस्थाहरुको सेयर मुल्य बढेको र ठूला कम्पनीको घटेपछि बजार ओर्र्लिएको हो ।













