३ मंसिर, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले आन्दोलन चर्काउने भन्दै आन्दालनका नयाँ कार्यक्रमहरु घोषणा गरेको छ ।संघीय समाजवादी फोरम नेपालको सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले शिक्षण संस्था संचालन गर्न दिने र औषधी लगायतका सामग्री नेपाल भित्रिन दिने निर्णय गरेको छ । मोर्चाका निर्णयहरु निम्न छन् :

१. मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुले उठाएका मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एवं तीन दल (नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा एमाले) गम्भीर नरहेको हुँदा चालू आन्दोलनलाई अझै बढी सशक्त रुपले जारी राख्ने निर्णय गरियो ।
२. आन्दोलनलाई अझै सशक्त एवं प्रभावकारी बनाउन यातायात, बजार, कलकारखाना बन्द गर्नुका साथै सीमानाका र राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरियो ।
३. २०७२ मंसिर ५ गते देखि राजमार्ग अवरुद्ध लगायतका कार्यक्रमहरुलाई निरन्तर जारीनै राख्ने निर्णय गरियो ।
४. २०७२ मंसिर ६ गते प्रमुख शहर बजारहरुमा मसाल जुलूस प्रदर्शन गर्ने ।
५. आन्दोलन जारी भएको १००औं दिन अर्थात् २०७२ मंसिर ७ गते सोमबार दिनको १.०० बजे वीर अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तराई–मधेश लगायत देशका विभिन्न ठाँउका चोक चौराहाहरुमा आम जनसमुदायको सहभागितामा स–परिवारसहित ५ मिनेट मौन धारण गर्ने निर्णय गरियो ।
६. विद्यालय/क्यापसहरुलाई विहानको समयमा कक्षा संचालन गर्ने गरि पठनपाठन सुचारु गर्ने,
७. बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो ।











