२ मंसिर, काठमाडौं । राप्रपाको महाधिवेशनबाट आलोपालो अध्यक्ष बन्ने निर्णय भए पनि सूर्यबहादुर थापाले विगारेको प्रणाली फेरि आलोपालो गर्नेमै सहमति भएर टुंगिएको छ । सूर्यबहादुर थापाले एक वर्षपछि नेतृत्व लोकेन्द्रबहादुर चन्दलाई दिनुपर्नेमा षडयन्त्र गरेर पशुपति शमसेरलाई दिएका थिए । थापाको निधन भएको केही समयपछि भने राप्रपा विवाद टुंगिएको छ ।
संसदमा १२ जना सांसद रहे पनि विभाजित अवस्थामा रहेको सत्ता समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी १६ महिनापछि एकीकृत हुने भएको हो ।

लोकेन्द्रबहादुर चन्द र पशुपतिशमसेर राणाले आफूलाई अध्यक्ष दाबी गर्दै समानान्तर कार्य समिति चलाएका कारण राप्रपाको वैधानिकता विवाद निर्वाचन आयोगमा पुगेको छ ।
पार्टीमा विवादकै कारण संसदीय दल दुई कित्तामा विभाजित भएपछि राप्रपाले मन्त्री छान्न नसकेर सरकारमा जाने विषय स्थगित छ । प्रधानमन्त्री ओलीले दुबै पक्षलाई मिलेर आउन सुझाव दिएका थिए ।
यसबीचमा पटक(पटक भएका छलफलपछि पार्टीलाई पुरानै चक्रीय प्रणालीअनुसार नेतृत्व हस्तान्तरण गर्ने सहमति भएपछि पार्टी एकता हुन लागेको केन्द्रीय सदस्य राजेश गिरीले बताए । गिरीले भने( अब पार्टी पुरानै चक्रीय नेतृत्वको प्रणालीबाट अघि बढेर महाधिवेशनसम्म पुग्नेछ, त्यसपछि नयाँ पुस्ताले नेतृत्व लिने अवस्था आउँछ ।’
चक्रीय प्रणालीअनुसार अब पशुपतिशमसेर जबराले तत्कालै केन्द्रीय कार्य समिति बैठक राखेर लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष प्रस्ताव गर्नेछन् ।
चन्दले एक वर्षपछि राणालाई नेतृत्व हस्तान्तरण गर्नेछन् भने राणाले प्रकाशचन्द्र लोहनीलाई हस्तान्तरण गरेपछि लोहनीले महाधिवेशन गराउने सहमति भएको स्रोतले जनाएको छ ।
एकताको घोषणा बिहीबार बिहान संयुक्तरुपमा पत्रकार सम्मेलनमार्फत हुनेछ । पत्रकार सम्मेलन लगत्तै चन्द पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता पाउन दिएको निवेदन फिर्ता लिने सहमति भएको छ ।
सूर्यबहादुर थापापछि लोकेन्द्रले अध्यक्ष पाउने सहमति विपरीत राणालाई अध्यक्ष बनाएपछि राप्रपामा विवाद शुरु भएको थियो । यो विवादको १६ महिनालाई पार्टीभित्रको संक्रमणकाल मान्दै पुनः चक्रीय प्रणालीमा जाने सहमति भएको केन्द्रीय सदस्य गिरीले बताए ।











