२ मंसिर, काठमाडौं । संघीय प्रदेशको सीमाङ्कनप्रति असन्तुष्ट रहेका केही मधेसी दलसँग आज हुने भनिएको निर्णायक वार्ता कांग्रेसका कारण समस्यामा पर्ने देखिएको छ । हिजो मंगलबारसम्म अनौपचारिक छलफलमा सहमति जनाएको कांग्रेसले वार्ता सफल भए त्यसको जस एमाले र एमाओवादीलाई जाने र कांग्रेसको साख अझै गिर्ने भएको भन्दै आज निहुँ खोजेको हो । आज पदाधिकारी बैठकपछि कांग्रेसले वार्ता असफल पार्ने योजना बनाएको गोप्य स्रोत बताउँछ ।

पदाधिकारी बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले निर्णायक वार्ताका काँग्रेसलाई कुनै जानकारी नभएको बताएका छन् । मंगलबार अनौपचारिक सहमति जनाएको कांग्रेसको आज यसरी एकाएक बोली फेरिएको हो ।
“सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे, कहाँ र कहिले वार्ता हुन्छ, नेकालाई कुनै जानकारी छैन”– प्रवक्ता बडुले सञ्चारकर्मीलाई भने।
कांग्रेसले आफैले जस लिनका लागि सुशील कोइराला नेतृत्वको सरकारले निर्वाचन क्षेत्र निर्धारण र समावेशीताबारे संविधान संशोधन विधेयकलाई अगाडि बढाउन पनि सरकारसँग माग गरेको छ ।
त्यस्तै आजको पदाधिकारी बैठकले आफ्ना पार्टी सभापति सुशील कोइरालाको कार्यसमयमा आएको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जस्ताकोतस्तै ल्याउन सरकारसँग मागसमेत गरेको छ।











