२ मंसिर, अमेरिका। भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा न्युयोर्कमा बस्ने नेपालीले मंगलबार संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
नेपालले जारी गरेको संविधानको विषयलाई लिएर भारतले गरेको नाकाबन्दीका कारण नेपालको जनजीवन प्रभावित भएको तथा नेपालीको मानवअधिकार हनन् भएको भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा बिरोध प्रदर्शन गरेका हुन् ।
भारतले गरेको नाकाबन्दी तत्काल खोलेर समस्याको समाधान गर्न माग गर्दै गएको नेपाली टोलीले विश्व समूदायलाई भारतले नेपाल माथि गरेको नाकाबन्दीको जानकारी गराउँदै संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनलाई ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेलले पढेर सुनाएका थिए । नेपाली समुदायले आयोजना गरेको विरोध प्रदर्शनमा विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् । प्रदर्शनमा सहभागी हुन टाढाटाढा बस्ने नेपालीहरु स्वतस्फूत रुपमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि पुगेका थिए ।
अमेरिका भ्रमणमा रहेका गायक रामकृष्ण ढकाल तथा हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको विरोधमा आयोजना गरिएको प्रदर्शनमा समर्थन जनाएका थिए । कार्यक्रममा ढकालले विभिन्न राष्ट्रिय गीत गाएका थिए भने । गजुरेलले भारत विरुद्ध व्यंग्य गरेका थिए ।
भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा प्रवासमा रहेका नेपाली स्वतस्फूत सडकमा उत्रिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत पुगेका बेला त्यहाँ रहेका नेपालीले उनी विरुद्ध नाराबाजी गरेका थिए । मोदीले बेलायती प्रधानमन्त्ती डेभिड क्यामरुनसँग वार्ता गरिरहेका बेला नेपालीहरुले मोदीको विरोध गर्दै नाराबाजी गरेका थिए । उनी टेन डाउनिङ स्ट्रिटबाट निस्कँदै गर्दा सात सय भन्दा बढी नेपालीहरुले भारतले नेपालमा गरेको हस्तक्षेपको विरोध गर्दै प्लेकार्डसहित रहेका नेपालीहरुले विरोध गरेका थिए ।
त्यस्तै अमेरिकामा रहेका नेपालीहरुले आउँदो नोभम्बर २२ मा व्हाइट हाउस अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।











