१ मंसिर प्रधानमन्त्री केपी ओलीले मधेशी मोर्चासँग बुधबार निर्णायक वार्ता हुने दावी गरेका छन् । छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन मंगलबार साँझ काठमाडौको कमलपोखरी पुगेका प्रधानमन्त्री ओलीले गम्भीर मुद्रामा प्रतिक्रिया दिंदै मोर्चासँगको वार्तालाई निष्कर्षमा पु¥याउन आफू पाखुरा सुर्किने पक्षमा नरहेको बताए । ओलीले आफू जिद्दी र अहंकार नदेखाई आत्मीय ढंगले कुरा गर्ने पक्षमा रहेको भन्दै मोर्चाका नेताहरुलाई पनि वार्तामा लचिलो रुपमा प्रस्तुत हुन आग्रह गरे । मोर्चाले गरेको आन्दोलनका कारण मधेशका जनताले नै सबैभन्दा बढी दुःख पाएको र त्यसप्रति आफू निकै दुःखी रहेको भन्दै दाजुभाइ दिदीवहिनीले आपसमा अहंकार देखाउनु कसैको पनि हितमा नरहेको भावना उनले पोखे । मुलुकको आन्तरिक समस्या आपसमा वार्ता गरेर नै सुल्झाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रदेशको सीमांकन हेरफेरका विषयमा भने प्रतिक्रिया दिन इन्कार गरे । मधेशी मोर्चासँगको वार्तालाई परिणाममुखी बनाउन सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक प्रचण्ड, प्रधानमन्त्री ओली, प्रतिपक्षी नेपाली काँग्रेसका शिर्ष नेता र मोर्चाका नेताहरुसँग दुई दिन लगातार गोप्य रुपमा अनौपचारिक छलफल भएको छ । मंगलबार पनि दिनभर वालुवाटारमा सत्तापक्षीय दलका शीर्ष नेताहरुबीच विभिन्न चरणमा छलफल भएको थियो ।











