२८ कात्तिक, वीरगंज । संविधानप्रति असुन्तुष्ट मधेसी दलले वार्ता र सहमति भाँडने उद्देश्यले सत्तारुढ दलका पार्टी कार्यालय जलाउने कार्य सुरु गरेका छन् । तिहार लगत्त असन्तुष्ट दलसँग सहमति गर्ने तयारी सत्तापक्षीय दलहरुले गरेकै वेला आतंक मच्चाउने गरी मधेसी मोर्चाले आफ्ना कार्यकर्तालाई सत्तारुढ दलका पार्टी कार्यालय जलाउन निर्देशन दिएको हो । सोही निर्देशनवमोजिम मोर्चाले पर्सामा एमाले पार्टी कार्यालयमा आगजनी गरेको छ ।
पार्टी कार्यालयमा गरेको आगजनी आतंकको रुप भएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमाले नेता शंकर पोखरेलले मधेसी मोाएको वास्तविक उद्देश्य र गन्तव्यमा अब शंका नरहेको उल्लेख गरेका छन् । नेकपा (एमाले) पर्साको जिल्ला कार्यलयमा आगजनी गरेर मधेसी मोर्चाले आज आगो लगाएपछि एमाले नेताले यस्तो प्रतिक्रिया दिएका हुन् । शान्तिपूर्ण आन्दोलनमा हिंसा स्विकार्य नहुने भएकोले यसबाट मोर्चाले के सन्देश दिन खोजेको हो भनी पोखरेलले प्रश्न गरेका छन् ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले पर्साको वीरगञ्जस्थित नेकपा एमालेको कार्यालयमा आगजनी गरेका थिए । शनिबार बिहान आएका मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयमा आगो लगाएका थिए ।
एमाले सम्बद्ध युवासंघले छठ, नेपाल संवत् र तिहारको अवसरमा चियापान कार्यक्रम गर्ने तयारी गरेको थियो । त्यसको तयारीस्वरुप कार्यकर्ताहरुले शुक्रबार पार्टी कार्यालयमा सरसफाईसमेत गरी सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गरेका थिए । मोर्चाले बैठक बसेर चियापान कार्यक्रम नगर्न चेतावनीयुक्त विज्ञप्ति निकालेपछि कार्यक्रम स्थगित गरिएको थियो । तर कार्यक्रम स्थगित गरेपछि पनि मोर्चाका कार्यकर्ताले एमाले कार्यालयमा आगो लगाएका हुन् ।
आगजनीबाट एमाले कार्यालयका फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन् । मोर्चाका कार्यकर्ताहरुले आगजनी पछि टायर बालेर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए ।
यसअघि मधेस आन्दोलन चर्किएकाबेला पनि मोर्चाका कार्यकर्ताहरुले एमाले पर्सा कार्यालयमा आगजनी गरेका थिए ।











