२७ कात्तिक, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलहरुसँग अनौपचारिकरुपमा सकारात्मक वार्ता भइरहेको बताएका छन् ।
भाइटीकाको दिन प्रचण्ड निवास लाजिम्पाटमा संचारकर्मीले गरेको देउसी–भैलो कार्यक्रममा उनले आफूले मधेसी मोर्चाका नेताहरुसँग निरन्तर छलफल गरिरहेको र त्यो सकारात्मक रहेको बताए । सहमति हुने लगभग निश्चित भइसकेको पनि उनले बताए ।

दुई चार दिनभित्र तराई–मधेसका समस्या टुंग्याउने गरी छलफल अघि बढेको उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले भारतले गरेको नाकाबन्दीको कुटनीतिकरुपमा समाधान खोजिने पनि बताए । अहिलेको समस्यालाई अवसरको रुपमा लिएर चीनलगायतका अन्य मुलुकसँगसमेत व्यापार सम्झौता गर्नुपर्ने उनको भनाइ थियो ।
आफूलाई यो सरकार बन्नुभन्दा पहिला नै प्रधानमन्त्री र राष्ट्रपति बन्ने प्रस्ताव आएपनि अहिलेको भूमिकामा नै रहन चाहेको जवाफ दिएको प्रचण्डले बताए ।
अहिलेको सरकारको विकल्पबारे कल्पनासम्म गर्न नसकिने उनको भनाइ थियो ।











