२५ कात्तिक, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले तिहारलाई लक्षित गरेर दाउरा बेच्ने भएको छ । शुक्रबारदेखि सरकारले बेच्ने दाउरा किन्न सकिने छ ।
वन मन्त्रालयले शुक्रबार तराई क्षेत्रबाट दाउरा ल्याएर काठमाडौंमा वितरण सुरु गर्ने निर्णय गरेको छ । मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल टिसिएनलाई दाउरा काठमाडौं आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।

अब ३ सय चट्टा दाउरा काठमाडौं ल्याइने वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले बताए । सुरक्षा खतराका कारण कुन क्षेत्र र जिल्लाबाट काठ ल्याउने भन्ने मन्त्रालयले खुलाएको छैन ।
पहिलो चरणमा बिहीबार नै केही परिमाणमा दाउरा काठमाडौं भित्रिने छ । शुक्रबारदेखि नै दाउराको वितरण सुरु गर्ने तयारी भएको प्रवक्ता आचार्यले जानकारी दिए । वितरण हुने दाउरा सालको काठका हुनेछन् ।
प्रतिपरिवार १ सय केजीसम्म दाउरा दिने निर्णय भएको छ । तर, विद्यालय तथा सुरक्षा निकायलाई भने दाउराको परिमाण बढाएर बिक्री गर्ने मन्त्रालयको तयारी छ । टिसिएनको बालकुमारी र पशुपति डिपोले दाउरा बिक्रीको जिम्मेवारी पाएका छन् ।











