२५ कात्तिक, वाँके । जुवातास खेल्न नदिने र खेल्नेलाई कारवाही गर्ने प्रहरी निकायका अधिकारी नै जुवाको खालबाट पक्राउ परेका छन् । बाँकेको नेपालगंजमा प्रहरी निरीक्षक भरतसिंह राठौरसहित ९ जना पक्राउ परेका हुन्। नेपालगन्जको धम्बोझी चोकस्थित होटल सिटी प्यालेसबाट लाखौं रुपैयाँसहित उनीहरु गएराति पक्राउ परेका हुन्।
अञ्चल प्रहरी कार्यालय भेरीका अनुसार उक्त जुवा खालबाट २ लाख ९५ हजार २ सय १० रुपैयाँ बरामद गरिएको छ। होटल सञ्चालक लोकेन्द्र अर्याललाई प्रहरीले फरारको सूचिमा खोजी गरिरहेको जनाएको छ। पक्राउ परेका सबै जुवाडेलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर अनुसन्धन सुरु गरिएको अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले जानकारी दिए। प्रहरी अधिकृतकै सहभागितामा होटलमा जुवा चलिरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको अञ्चल प्रहरीले राति करिव १० बजे होटलमा छापा मारेको थियो।

होटलको १ सय ३ नम्बर कोठामा जुवा चलिरहेको अवस्थामा ड्यूटी छाडेर आएका प्रहरी निरीक्षक राठौर रंगेहात फेला परेका थिए। उनी इलाका प्रहरी कार्यालय खजुराका इन्चार्ज हुन्। पक्राउ परेका प्रहरी निरीक्षक राठौरलाई आवश्यक कारवाहीका लागि निलम्वित गर्ने तयारी भइरहेको अञ्चल प्रहरी प्रुख बस्न्यातले जानकारी दिए ।
‘कानुनको परिधि भन्दा बाहिर जाने कसैलाई पनि छुट छैन’ उनले भने- ‘आफ्नो पदीय मर्यादा भुलेर जुवा खेल्ने प्रहरी निरीक्षकलाई आजैबाट कारबाहीको प्रक्रिया सुरु गरिसकेका छौं।’ अञ्चल प्रहरीले पाँच वटै जिल्लामा जुवा नियन्त्रणका लागि विशेष टोली परिचालन गरेको बरिष्ठ प्रहरी उपरिक्षक बस्न्यातले बताए । प्रहरी निरिक्षक राठौर दुई साता अघि नेपालगन्ज–१६ कोरियनपुरस्थित प्रकाश शाहको घरमा जुवा खेलिरहेको अवस्थामा फेला परे पनि बाँके प्रहरीले संरक्षण गरेको थियो।











