२४ कात्तिक, काठमाडौं । इन्धनको चरम अभावका कारण सार्वजनिक सवारी कम चल्न थालेपछि सशस्त्र प्रहरी बलले निःशुल्क वस सेवा सञ्चालनमा ल्याएको छ ।

विरामी तथा यातायात सुविधाको अभावमा बेलुका घर फर्किन समस्यामा परेका यात्रुहरुलाई ध्यानमा राखेर तीन वटा बस सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुलाई समेट्ने गरी उक्त बसहरुले यात्रुहरुलाई निःशुल्क सुविधा प्रदान गर्नेछ । विरामी तथा जेष्ठ नागरिक एवं अपाङ्गहरुलाई प्राथमिकता दिइने निःशुल्क बस सेवा राति अवेरसम्म संचालन गरिनेछ ।
बस सेवा संचालन गर्दा विभिन्न अस्पताल तथा यात्रुहरुको बढी भिडभाड हुने ठाँउलाई समेत लक्षीत गरिएको सशस्त्रले बताएको छ । सशस्त्र प्रहरी बलको यस बस सेवाले शहरको मूल बाटोहरुमा सेवा प्रदान गर्नेछ ।
हाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट निस्कने तीन वटा बसहरु मध्ये एउटा बसले कलंकी, सितापाईला, स्वयम्भु, बनस्थली, बालाजु, गोङ्गबु, सामाखुसी, बसुन्धारा, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै स्वयम्भूसम्मनै यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
स्वयम्भुबाट गुडेको अर्को बस कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बाराही, महाराजगंज, बसुन्धारा, सामाखुसी, गोङ्गबु, बालाजु, बनस्थली, स्वयम्भु, सितापाईलाहुँदै कलंकी पुगेर स्वयम्भु फर्किनेछ ।
यसैगरी अर्को बस स्वयम्भुबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भु फर्किनेछ ।











