२४, कात्तिक काठमाडौँ । मुलुकमा भारतले लामो अघोषित नाकाबन्दी लगाएको विषयमा अहिलेसम्म नबोलेका पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच केही दिनअघि टेलिफोनवार्ता भएको छ । मोदी आफैंले टेलिफोन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई अघि बढ्न सुझाव दिँदै कुनै बेलाको लागि तयार भएर बस्न सन्देश दिएका थिए । स्रोतका अनुसार मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिव्यक्तिप्रति रोष प्रकट गरेका थिए ।

राष्ट्रिय स्वयम सेवक संघ र भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुवीच दिल्लीमा भएको छलफल हिन्दू धर्म र राजसंस्थाको पुर्नस्थापनाको विषयमा कुुरा भएको थियो । स्रोतका अनुसार आरएसएस पहिला हिन्दू धर्म हुनुपर्ने पक्षमा उभिएको छ । छलफलमा नेपालको संविधानबाट धर्म निरपेक्ष हटाएर अहिले धार्मिक स्वतन्त्रता राख्ने विषयमा सहमति भए नाकाबन्दी खोल्नु पर्ने कुराकानी भएको थियो ।
नाकाबन्दीको विषयमा कुरा गर्न दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग पनि भाजपाका नेताहरुसँग धर्मको विषयमा कुराकानी भएको स्रोतको दावी छ । त्यसबेला नै थापालाई पूर्व राजा ज्ञानेन्द्रसँग कुुराकानी गर्ने जिम्मेवारी भाजपा नेताहरुले दिएका थिए । भारतीय जनता पार्टीको सरकार बनिसकेपछि दुई पटक नयाँ दिल्ली पुगेका ज्ञानेन्द्रसँग पनि त्यहाँ यस विषयमा कुराकानी भएको थियो । भारत ज्ञानेन्द्रलाई नै पुर्नस्थापना गर्न नसकेपनि नाती हृदयेन्द्रलाई ल्याउने योजनामा छ ।











