२४ कात्तिक, काठमाडौं । नेपालकालागि भारतीय राजदूत रञ्जित रेले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताएका छन ।
काठमाडौंमा मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाल सरकारले विशेष प्रस्ताव पास गरेको कुरा पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । सरकारको प्रस्ताव आफूले औपचारिक रुपमा नपाएको उनले प्रष्ट पारे । नेपाल सरकारले आफूलाई औपचारिक रुपमा पत्र दिए त्यसलाई गंभिरताका साथ अगाडि बढाउने भनाइ राजदूत रेको छ ।

राजदूत रेले एकदुई दिनमा नेपाल भारत नाका सहज हुने भनि आएको समाचारलाई हल्ला र अनुमान भन्दै वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने बताए ।
उनले सत्य भए पनि झुठो भए पनि नेपालमा समाधान गर्नु पर्ने केही मुद्दाहरु रहेकोले त्यसलाई बार्ता र संबादको बाटोबाट छिटो हल गर्नु पर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे ।
राजदूत रेले जेनेभा मानवअधिकार सम्मेलनमा भारतले मानवअधिकारको विश्वब्यापी मान्यता अनुरुपको नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा उठाएको दावी गरे । भारतले उठाएको यो विषयलाई नेपाल भारत सम्बन्धको नयाँ प्रस्थान विन्दुको रुपमा बुझ्न नहुने तर्क उनले गरे ।
राजदूत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसकोलागि दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नु पर्ने आवश्यकता औल्याए ।
भारतले ७० वर्षदेखि नेपाली जनताको साथमा रहेर सहयोग गरेको उल्लेख गर्दै भारतीय राजदूत रेले भारत सधै नेपाली जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।











