२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री भएको एक महिनासम्म पनि मन्त्रीपरिषद् विस्तारमै समय विताएका केपी शर्मा ओलीले ठोस कार्यक्रमसहित देशबासीलाई सम्बोधनको तयारी गरेका छन् । उनले मंगलबार देशवासीलाई सम्बोधन गर्ने जनाएका छन् ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएको मंगलबार एक महिना पुग्दैछ । त्यस अवसरमा देशबासीलाई सम्बोधन गर्दै ओलीले केही कार्यक्रमहरु घोषणाको तयारी समेत गरेका छन् ।
राप्रपा नेपालका तर्फबाट सोमबार दुई राज्यमन्त्री र दुई सहायकमन्त्रीलाई नियुक्त गरेपछि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधनको तयारी भइरहेको जानकारी दिए ।

वुधबार देशबासीलाई सम्बोधन गर्ने र केही कार्यक्रम घोषणा गर्ने खुलासा समेत ओलीले गरेका छन् । ओलीले आफ्ना इच्छा र योजनाबारे समेत खुलासा गर्ने बताए ।
लोकतान्त्रिकसहितका दलको समर्थनमा ओली असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २५ गते सपथ लिएर पदभार ग्रहण गरेका थिए ।
सरकार गठन भएको एक महिना पुगे पनि अहिलेसम्म न्यूनतम साझा कार्यक्रम भने सार्वजनिक हुन सकेको छैन । भारतले गरेको नाकाबन्दीको भित्री नियत र चीनसँग गरिने तेल व्यापारको सरकारी योजना लगायतका महत्त्वपूर्ण योजनालगायतको ओलीले खुलासा गर्ने अनुमान गरिएको छ ।











