२३ असोज, काठमाडौं । नेपाल आयल निगमले आफूसँग भएको तेलको मौज्दात अन्तिम अवस्थामा पुगेको जनाएको छ । साथै उसले अब सुरक्षा तथा अत्यावश्यक सेवा बाहेकका सवारीलाई तेल नदिने संकेत गरेको छ ।
निगमले सोमबार पत्रकार सम्मेलन गरी तत्कालका लागि मौज्दात सकिएको जानकारी दिएको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भारतबाट तत्काल आपूर्ति सुचारु नभए सुरक्षा तथा अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल दिन सकिने बताए । भारतीय नाकामा रोकिएका पेट्रोलियम ट्यांकर र ग्यास बुलेट नआए अत्यावश्यक सेवामा मात्र इन्धन दिनसक्ने स्थितिमा रहेको खड्काले बताए ।

गत साता भएको वीरगञ्ज घटनापछि भारतबाट तेलको आयात ठप्प छ । भारतीय नाकामा ३ सय ५१ ग्यास बुलेट, ६६ पेट्रोल, २ सय ५१ डिजेल र १३ वटा हवाइ इन्धन बोकेका ट्यांकर रोकिएका छन् ।
तर, निगमले आफूसँग भएको स्टक भने सार्वजनिक गरेको छैन । आयल निगमले तिहारलाई लक्षित गरेर निजी सवारीलाई तेल नदिइने र सार्वजनिक सवारीलाई दिइने तेलको परिमाण पनि नबढाउने बताएको छ ।
आयल निगमले तेल पाइने आशामा तेल भर्न र ग्यास लिन लाइनमा बसेका सर्वसाधरण उपभोक्तालाई घर फर्कन आग्रह गरेको छ । निगमको यो भनाइले लाइनमा बसिरहेका र कुपन पाएर प्रतीक्षामा बसेको सर्वसाधारणहरु निराश बनेका छन् ।











