२३ कात्तिक, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा यतिवेला फेरि संसद प्रवेश गरेको छ । तत्कालीन संविधान सभाको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेको सद्भावना पार्टी समेत निर्लज्ज भएर फेरि संसद फर्केको छ । संसद र सडक दुवै स्थानबाट आन्दोलन चर्काउने मोर्चाको अभिव्यक्ति भए पनि यति मात्रै कारणले मधेसी मोर्चा संसदमा फर्केको होइन । यो सबै प्रभुबाटै मिलाइएको गोप्य स्रोत बताउँछ ।
जसरी प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस र मधेसी मोर्चालाई भारतले एक ठाउँमा उभ्यायो अहिले पनि त्यसरी नै एक ठाउँमा ल्याइएको बताउँछन् एक विश्लेषक
कांग्रेसले केन्द्रीय कार्य समिति बैठक हुँदै गर्दा नै संसदमा दर्ता भएका विधेयक पारित नभएर संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । कांग्रेसले संसद अबरुद्ध गर्ने चेतावनी दिने र मोर्चाले अवरुद्ध नै गर्ने एकाएक भएको छ । यो त्यतिकै भएको होइन । हिजोसम्म मधेसी मोर्चाको विरुद्धमा रहेको कांग्रेस आज एकाएक मोर्चाको मोर्चामा हुनु अनौठो मान्दछन् विश्लेषकहरु ।
विश्लेषकहरु किन पनि अनौठो मानिरहेका छन् भने हिजोका दिनमा मधेसी मोर्चालाई बोकेर हिँड्नेमा एमाओवादी थियो । एमाओवादी नेतृत्वको मोर्चाकै अनेक अवरोधका कारण संविधान बन्न सकेन । तर यतिवेला भारतले कांग्रेस र मधेसी मोर्चाको मोर्चा बनाइदिएको गोप्य स्रोत बताउँछ । यद्यपि यो मोर्चाले अघोषित रुपमा नै कार्यगत एकता गर्ने अहिलेको रणनीति रहेको स्रोत बताउँछ ।
सरकार र आन्दोलनरत पक्षबीच कुनै सहमति र रणनीति परिवर्तनविनै मधेसी मोर्चा संसदमा आएपछि उसको रणनीति र भारतीय योजना बारे यस्तो विश्लेषण हुन थालेको हो ।
मोर्चालाई कांग्रेससँग भारतले मिलाउनुको कारण मोर्चाको रणनीतिक असफलता र शक्तिमा आएको कमजोरीका कारण पनि हो । लामो समयदेखि जारी आन्दोलनप्रति मधेसी जनताले नै प्रश्न उठाएका कारण पनि मधेसी मोर्चा अब कांग्रेसको आडमा संसदतिर लागेको हो । र कांग्रेसको आडमै अस्थिरता ल्याउने योजना भारतले दिइरहेको बताइन्छ ।












