२१ कात्तिक, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले प्रगतिशिल संविधान बनाएकाले भारतले सजाय दिएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तै अवस्था रहिरहे भारतसँग अन्तिम अवस्थासम्म लडिरहने बताए ।
‘हामीले प्रगतिशिल संविधान बनाएकाले भारतले सजाय दिएको छ’, उनले भने, ‘यदि उसले हामीलाई यस्तै अवस्था राखेर दबाब दिइरहने हो भने हामी कुनै हालतमा झुक्दैनौं, अन्तिम अवस्थासम्म लड्छौं ।’
तराई–मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न वार्ता र संविधान संशोधन प्रक्रिया एकसथा अघि बढिरहेको बताउँदै प्रचण्डले तराईका माग पुरा गर्न आफूहरु लचक हुन तयार भएको बताए ।
‘तराई–मधेसको समस्या समाधान गर्न वार्ता र संविधान संशोसधन प्रक्रिया जारी छ’, उनले भने, ‘मधेसका माग सम्बोधन गरी मधेसी दललाई सरकारमा ल्याउन तयार छौं, त्यसका लागि हामी लचक भएर प्रस्तुत भइरहेका छौं ।’
तराई–मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दी अन्तरसम्बन्धित रहेका बताउँदै प्रचण्डले नेपालको समस्या समाधान गर्न आफूहरु सक्षम रहेको उल्लेख गरे ।
द्वन्द्वकालका घटना भारतले संयुक्त राष्ट्र संघमा उठाउनु समय सान्दर्भिक र उचित पनि नरहेको प्रचण्डले प्रस्ट्याए ।
‘कुटनीतिक ढंगबाट भारतसँगको सम्बन्ध सुधार्न तयार छौं र त्यसका लागि आवश्यक पहल भइरहेको छ’, प्रचण्डले भने, ‘भारतले यसैगरी दबाब दिइरहने हो भने समस्याको समाधान निस्कन्न । समाधान वार्ता र संवादबाट खोजिनुपर्छ ।’
तराई–मधेसका माग सम्बोधन गर्न संसद्मा संविधान संशोधनका लागि दर्ता गरिएको प्रस्तावलाई अघि बढाउन कुनै समस्या नभएको प्रचण्डको भनाइ थियो ।
‘संविधान संशोधनका लागि कांग्रेस सहभागी नभएपनि फरक पर्दैन’, उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराएको हुनाले यसलाई परिमार्जित गरेर अघि बढाउन सकिन्छ ।’
अध्यक्ष प्रचण्ड एमाओवादीको लुम्बिनी अञ्चलस्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल पुगेका हुन् ।












