२० कात्तिक, काठमाडौं । भारतीय सिमामा इन्धनका ट्याङ्कर रोक्न लगाएर आफैं पेट्रोलको तस्करी गरिरहेका संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्तालाई माथ गर्दै आयल निगमका कार्यकारी निर्देशकले नै इन्धन तस्करी गरेर ५ करोड कमाउँदैछन् । मन्त्रीपरिषद्ले खारेज गर्न निर्देशन दिएका विराट आयलका संचालक समेत रहेका निगमका कार्यकारी निर्देशक खड्काले महंगो मूल्यमा पेट्रोल बचेर ५ करोड रुपैयाँ झ्वाम पार्न लागेका हुन् । आयल निगमले चाहिँ पेट्रोल ल्याउन नसक्ने तर निजी कम्पनीले भारतबाटै स्थलमार्गबाट तेल ल्याउन सक्ने गरी खड्काले ठूलो रकम घोटाला गर्न लागेका हुन् ।

भारतले नाकाबन्दी लगाएपछि चर्किएको इन्धन अभाव टार्न सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले निजी कम्पनीबाट पेट्रोलियम आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सूचनामार्फत ग्लोबल टेन्डर आह्वान गरेको निगमले खड्काकै ठाडो आदेशमा प्रतिस्पर्धामा उत्रिएका २१ कम्पनी पन्छाएर विराटलाई प्रतीतपत्र (एलसी) खोल्न बिनाआधार २० करोड रुपैयाँसमेत भुक्तानी दिएको छ ।
प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी खड्काले विराटलाई ठेक्का दिलाएको भित्री स्रोत बताउँछ । बिनालगानी ५ करोड ५ लाख रुपैयाँ चोखै कुम्ल्याउने गरी कार्यकारी निर्देशकले एकलौटी रुपमा विराटलाई ठेक्का दिएको आयल निगमका अधिकारीहरु बताउँछन् । यही सम्झौताअनुसार तेल कारोबार भए विराटले पेट्रोलबाट २ करोड ३५ लाख र डिजेलबाट २ करोड ७० लाख नाफा कमाउने छ ।
भारतको सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ । त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ ।
निगमका कार्यकारी निर्देशक खड्काका अनुसार सिलिगुडीमा लोड गरेको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर २० हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख ५० हजार लिटर डिजेल र २ लाख ५० हजार लिटर पेट्रोल हो। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।
उनले गर्न लागेको भ्रष्ट्राचारमाथि संसदीय समितिमा सांसदहरुले प्रश्न गर्दा अहिलेको कानुनले तेल ल्याउन नसकिने भएकाले कानुन मिचेर विराटलाई ठेक्का दिएको जवाफ खड्काले दिएका छन् ।
सांसद अम्बिका बस्नेतले विराट आयलमा खड्काको पनि लगानी रहेको दाबी गर्दै त्यही कारण कानुनविपरीत एलसी खोल्न पैसा दिएको खुलासा गरेकी छिन् ।
वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले विराटले ल्याउने तेलभन्दा चीनबाट ल्याउँदा ६१ प्रतिशत सस्तो पर्ने तथ्य प्रस्तुत गरेका छन् । विराटले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल दिने सम्झौता खड्काले गरेका छन् । यो भन्सारबाहेकको मूल्य हो । भन्सार जोडिँदा २ सय २० भन्दा कममा आउँदैन । तर चीनबाट ल्याएको पेट्रोल १ सय ३५ रुपैयाँमा उपभोक्तालाई दिन सकिने सचिव उपाध्यायले बताएका छन् ।
कार्यकारी निर्देशक खड्काले सिधै करोडौं कुम्ल्याउन खोजेको उपभोक्ता संरक्षण मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनले समेत उल्लेख गरेका छन् । यस विषयमा खड्कालाई मुद्दा हाल्ने तयारी समेत उपभोक्ता संरक्षण मंचले गरेको छ ।
तेल ल्याउनका लागि भन्दै वीस करोड रुपैयाँ समेत आयल निगमले विराटलाई दिइसकेको छ । विराट आयललाई २०६८ चैत २७ गते बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले बन्द गर्न निर्देशन दिएको थियो । विदेशबाट डढेको मोबिल ल्याएर पेट्रोलियम पदार्थ बनाई बिक्री गरेको फेला परेपछि तत्कालीन मन्त्रिपरिषदले उक्त कम्पनी तत्काल बन्द गर्न निर्देशन दिएको थियो । कम्पनी बन्द गर्न दिइएको निर्देशन समेत कम्पनीले पालना गरेको थिएन ।













