१८ कात्तिक, काठमाडौं । एमाओवादी परित्याग गरेका नेता डा बाबुराम भट्टराईको नेतृत्वमा नयाँ पार्टीको गठन ३ महिनापछि गरिने भएको छ । एमाओवादीले वुधबार निष्कासित गरेका नेता रामरिझन यादवले नयाँ पार्टीको गृहकार्य गर्न दुईदेखि तीन महिना लाग्ने बताए । नेपालदेश डटकमसँग कुराकानी गर्दै यादवले तत्कालका लागि आफूहरु नयाँ शक्तिको प्रचारप्रसारका लागि देश दौडाहामा लाग्ने जानकारी दिए ।

मधेस आन्दोलन भारतीय सहयोगमा भएको र बाबुराम भट्टराईले भारतीय योजनाअनुसार एमाओवादी छाडेको भन्ने आरोपको खण्डन गर्दै यादवले त्यस्तो आरोप महेन्द्रवादीहरुले लगाउने गरेको जिकिर गरे ।
यसैबीच तत्कालका लागि नयाँ शक्तिको संयोजक बाबुराम नबनी देवेन्द्र पौडेललाई बनाउने तयारी गरिएको छ । एमाओवादी परित्याग गरेका नेताहरुले आज बैठक गरी तत्कालका लागि पौडेल संयोजक र महासचिव गंगा श्रेष्ठ बन्ने गृहकार्य गरेका छन् । पार्टी बाहिरका व्यक्ति बाबुरामको नयाँ शक्तिमा नआउने भएपछि तत्कालका लागि उनी संयोजक नबन्ने र तीन महिनाको गृहकार्य गरेपछि मात्रै पार्टी गठन गर्दा आफूले नेतृत्व गर्ने योजना बाबुरामको रहेको समेत नेता यादवले बताए ।











