१८ कात्तिक, काठमाडौं । कांग्रेस नेतृत्वको कार्यशैलीप्रति सदस्यहरुले आक्रोस व्यक्त गरिरहेका वेला पार्टीको छवि सुधार्नका लागि कांग्रेसले नयाँ कार्ड प्रयोग गर्ने भएको छ । कांग्रेसले प्रयोग गर्ने यस्तो कार्ड सफल भए कांग्रेसको साख माथि उठ्ने मात्र नभएर नेपाली जनताले पनि इन्धन आपूर्तिको समस्याबाट मुक्ति पाउने छन् । कांग्रेसका युवा नेताहरुको सुझावअनुसार पार्टीले यस्तो निर्णय गर्न लागेको बताइएको छ । प्रधानमन्त्रीको उम्मेदवार उठाएर भारतले कांग्रेस नेतृत्वलाई बदना गराएको भन्दै त्यो बदनामीको क्षतिपूर्ति कांग्रेसको पहलपछि इन्धन दिएर गरिदिन कांग्रेसले भारतसँग आग्रह गर्ने तयारी भएको बुझिएको छ । कांग्रेसले भन्दैमा भारतले इन्धन दिए लोकप्रियता हासिल हुने र नदिए पनि पार्टीले पहल गरेको भन्दै जनता र कार्यकर्तालाई जवाफ दिन पाइने कांग्रेस नेताहरुको तर्क छ ।

इन्धन आपूर्ति सहज गर्नका लागि कांग्रेसले पार्टीका तर्फबाट भारतसँग पहल गर्ने भएको जानकारी पार्टी प्रवक्ता दिलेन्द्र बडुले दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा सदस्यहरुले व्यक्त गरेको धारणा अनुसार पार्टीले भारतसँग विशेष आग्रह गर्ने निर्णय गरेको जानकारी प्रवक्ता दिलेन्द्र बडुले दिए । केवल सरकारको मात्र मुख ताकेर बस्न नहुने भन्दै पार्टीका तर्फबाट पहल गर्न सदस्यहरुले नेतृत्वलाई आग्रह गरेका थिए ।
त्यस्तै मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि कांग्रेसले प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्ने तयारी गरेको पनि बडुले जानकारी दिए । प्रतिपक्षमै बसेर पनि संविधान संशोधन गर्ने विषयमा कांग्रेसले सहयोग गर्ने उनले बताए ।











