१८ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठकले पूर्व नेता डा. बाबुराम भट्टराई पक्षमा लागेका पाँच नेतालाई पार्टीबाट निष्काशन गरेको छ । देवेन्द्र पौडेल र हिसिला यमी लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पौडेलको नेतृत्वमा भट्टराई समर्थक ४५ केन्द्रीय नेताले पार्टीमा असहमति दर्ता गर्दै नयाँ शक्ति निर्माणमा लागेको घोषणा गरेपछि बुधबार बिहान एमाओवादी स्थायी समिति बैठक बसेको थियो ।
प्रचण्ड निवासमा बसेको बैठकले पहिल्यै स्पष्टीकरण सोधिएका केन्द्रीय नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा र गंगा श्रेष्ठलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । बाबुराम भट्टराईले पार्टी परित्याग गरेकै बेला उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भैसकेकोले अब पुनः स्पष्टीकरण सोधिरहनुनपरेकोले उनीहरुलाई हटाउनुपर्छ भन्ने मत बैठकमा बैठकमा आएको एमाओवादीले जनाएको छ ।
यसअघि स्पष्टीकरण सोधिएका सांसद प्रभु साह भने यो पटक भट्टराईको समर्थनमा नआएको भन्दै कारबाही गरिएको छैन । उनलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।












