१८ कात्तिक, काठमाडौं । राष्ट्रपति पदमा आकांक्षा राखेर पनि केपी ओलीले विद्यालाई राष्ट्रपतिको उम्मेदवार रोजेपछि जिल्लिएका एमाले नेता झलनाथ खनालले भण्डारीलाई भोट नहालेको रहस्य खुलेको छ । ओली समूहले एमाले बरिष्ठ नेता झलनाथ खनालमाथि आशंका फैलाएको हो । विद्या भण्डारीलाई राष्ट्रपति बनाउने बेलामा खाली भेटिएका दुई मत उनै खनाल र उनका एक पूर्वसल्लाहकारको भएको चर्चा एमाले संसदीय दलमा भएको छ । यस्तो कुराको खुलासा एमाले निकट बुधबार साप्ताहिकले गरेको हो ।
ओली समुहले खनालप्रति शंका गरे पनि गोप्य मतदान भएका कारण उनीहरुले नै खाली राखेका हुन् भनेर कतै पुष्टि हुने अवस्था भने छैन । एमालेको गत महाधिवेशनमा तटस्थ बसेर कतै पनि मत नहालेका खनालले राष्ट्रपति निर्वाचनमा पनि त्यसै गरेका होलान् भनेर एमालेभित्र अनुमान चलिरहेको हो ।












