१८ कात्तिक, काठमाडौं । मुलुकको हितविपरीत भारतीय सिमामा दंगा मच्चाइरहेका केही मधेसी नेताको बुई चढेर सरकार बनाउने कसरत कांग्रेस नेतृत्वले गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले गम्भीर आलोचना गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेपाली काँग्रेसका केन्दीय सदस्यहरुले मधेश आन्दोलन थप लम्बिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने भन्दै आन्दोलन साम्य पार्नका लागि पहल गर्न समेत सुझाव दिएका छन् । पार्टीभित्र उच्चस्तरीय राजनीतिक समिति गठन गर्न उनीहरुले माग गरेका छन्।
पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा बोलेका सदस्यहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गरेर आन्दोलन सम्बोधनको पहल गर्नुपर्ने आवाज उठाएका हुन्। बैठकमा बोलेका अधिकांशले सोमबारको वीरगञ्ज घटनाले सरकारले मधेश आन्दोलन साम्य पार्न नसक्ने देखिएको भन्दै मुलुकको सबैभन्दा ठूलो दलको नाताले काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।
केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, डा। शेखर कोइराला, बालकृष्ण खाँण र डा। मिनेन्द्र रिजालले मधेशवादी दलहरुले उठाएका जायज माग सम्बोधन गर्न विलम्ब गरे परिस्थिति काबु वाहिर जान सक्ने बताए। उनीहरूले मधेशवादी दलहरुको आन्दोलनमा आफ्ना पार्टीका कार्यकर्ता पनि सहभागी भएकाले आन्दोलनलाई बेवास्ता गरे पार्टी मधेशबाट बढारिन सक्नेतर्फ सचेत हुन नेतृत्वसँग आग्रह गरे। बैठकमा १४ जना नेताले आ आफ्नो धारणा राखेकामा अधिकांशले मधेश आन्दोलन छिटो सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए।
बैठकले आगामी फागुन महिनामा तय गरिएको १३ औं महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ११ वटा समिति गठन गरेको छ। बैठकले पार्टी सभापति सुशील कोइरालाको संयोजकत्वमा मूल तयारी, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा विधान संशोधन, डा। रामशरण महतको संयोजकत्वमा आर्थिक, नविन्द्रराज जोशीको संयोजकत्वमा मञ्च व्यवस्थापन, मीना सुब्बाको संयोजकत्वमा सांस्कृतिक र सुजाता कोइरालाको संयोजकत्वमा विदेशी पाहुना सत्कार समिति गठन गरेको प्रवक्ता बडुले जानकारी दिए।
बैठकले डा मिनेन्द्र रिजालको संयोजकत्वमा प्रचारप्रसार, नारायण कोइरालाको संयोजकत्वमा स्वयंसेवक परिचालन र बलबहादुर केसीको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ। बैठकले केन्द्रीय समितिले पछि अनुमोदन गर्ने गरी समितिलाई पूर्णता दिने जिम्मा संयोजकहरुलाई नै दिएको छ। केन्द्रीय सदस्यहरुले बोल्ने पालो नसकिएका कारण बैठक बुधबार पनि बस्दैछ ।












