१८ कात्तिक, वीरगंज । मदिरा खुवाएर र अनेक प्रलोभन देखाएर वीरगंजको झडपमा भारतीयहरुलाई होमेको भन्दै भारतीय सिमाका स्थानीयवासीले मधेसी मोर्चाका नेताहरुलाई कुटेका छन् । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेता कार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका हुन् । ३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै कुटेका थिए । तिमीहरु मरे सरकारबाट १० लाख पाउँछौ, आफ्नो सरकार बने ५० लाख दिन्छौ तर हामी मर्दा पैसा खै भन्दै भारतीय समूहले मधेसी नेतालाई गाली गरेका थिए ।
मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका स्थानीय बासिन्दा आक्रोसित भएका हुन् । आक्रोसित समूहले अपशब्द बोल्दै हातपात गरेको थियो ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यबहार गरेको बताए ।











