डा. बाबुराम भट्टराईको एमाओवादी पदत्यागको ३८ दिनपछि एकीकृत माअोवादीका बाबुराम नजिक मानिएका केन्द्रीय सदस्यसहितका नेताले पार्टीबाट राजीनामा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडा पुगेर सामूहिक पत्र बुझाएका नेताहरुले आफूहरु नयाँ शक्ति निर्माणमा लागेको पत्रमा उल्लेख गरेका छन् । तर उनीहरुले पत्रमा राजीनामा वा पदत्याग गरेको भन्ने शब्दको भने प्रयोग गरिएको छैन । यसरी सामूहिक पत्र बुझाउनेमा ४० भन्दा बढी केन्द्रीय सदस्य रहेको बताइएको छ । नयाँ शक्ति निर्माणमा लाग्ने भन्दै घुमाउरो पारामा राजीनामा आशयको पत्र बुझाउनेहरुमा बाबुरामपत्नी हिसिला यमी, रामचन्द्र झा, रामरिझन यादव लगायत रहेका छन् ।

अहिलेको राजनीतिक संकट परम्परागत शक्तिबाट हल नहुँने तथा देशलाई आर्थिक समृद्धिको दिशामा लैजान नयाँ वैकल्पिक शक्तिको आबश्यकता रहेको भन्दै उनीहरुले एकीकृत माओवादी हेडक्वाटर पेरिसडाँडामा पुगेर सामूहिक पत्र बुझाए पनि उनीहरुले नयाँ शक्ति निर्माणको अभियान भनेका छन् ।
एकीकृत माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहितको टोलीले पार्टी मुख्यालय पेरिसडाँडा पुगेर जानकारी पत्र बुझाएका हुन् । पत्र बुझाउनुपूर्व उक्त टोलीले सोमवार दिनभर डा. भट्टराईसँग छलफल गरेको थियो । मंगलवार विहानदेखि तीनकुनेस्थित झिल्को रेष्टुरेन्टमा बसेका भट्टराई नजिक मानिएका केन्द्रीय सदस्यहरुले पत्र तयार पारेका थिए । उक्त पत्र पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव हितराज पाण्डेलाई बुझाइएको छ ।
यसअघि गत २३ गते बाबुराम नजिक मानिएका एकीकृत माओवादीका तीस केन्द्रीय सदस्यले विज्ञप्ती निकालेर केपी ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयको विरोधमा विज्ञप्ती जारी गरेका थिए ।
बाबुरामले एमाओवादी त्याग गरेपछि उनी निकट मानिएका एमाओवादीका नेताहरु पार्टी काममा भन्दा पनि भट्टराईकै काममा व्यस्त देखिएका छन्। एकीकृत माओवादीमै रहेर नयाँ शक्तिको लविङ गर्दा नैतिक प्रश्न उठेको भन्दै उनीहरुले सामुहिक पत्र बुझाएका हुन् ।











