१७ कात्तिक, काठमाडौं । मधेस आन्दोलनलाई राजनीतिक रुपले सम्बोधन गर्नुपर्ने माग उठाइरहेको सत्तासाझेदार दलकै नेता गृहमन्त्री बनेपछि मधेस आन्दोलन भड्काउने कार्य भएको तथ्य पत्ता लागेको छ । सोमबार बिहानै वीरगञ्जस्थित मितेरी पुलमा धर्नाकारीमाथि भएको प्रहरी हस्तक्षेप गृहमन्त्री शक्तिबहादुर बस्नेतको ठाडो निर्देशनमा भएको गोप्य स्रोतले बताएको छ । यो घटनापछि मधेसी नेताहरुले वार्ता भंग गर्ने चेतावनी एमाओवादी अध्यक्ष प्रचण्डलाई दिएका छन् ।
वीरगञ्ज घटना प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर गृहमन्त्री शक्ति बस्नेतको ठाडो निर्देशनमा भएको हो,’ स्रोतले
धर्नाकारीमाथि बल प्रयोग गर्ने यो घटनाबारे गृहमन्त्री बस्नेतले आफ्नो पार्टीका अध्यक्ष एवं राजनीतिक संयन्त्रका संयोजक प्रचण्डलाई समेत जानकारी दिएका थिएनन् । प्रचण्डका विश्वासपात्र मानिने वस्नेतको ठाडो निर्देशनमा भएको यो घट्नाले थप समस्या पैदा भएको विश्लेषकहरु बताउँछन् ।
एमाओवादीले सरकारमा गएका मन्त्रीहरुलाई निर्देशित गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा टीम बनाएको छ । तर, गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिनुअघि श्रेष्ठसँग पनि कुनै परामर्श नगरेको स्रोतले बतायो ।
आफ्नो दलका शीर्षनेताहरुसँग सल्लाह नै नगरी गृहमन्त्रीले काम गरेको देखाउन प्रधानमन्त्री ओलीसँग भित्री सल्लाह गरेर धर्नाकारीमाथि बल प्रयोग गर्दा समस्या उत्पन्न भएको एमाओवादीकै एक नेताले बताए । यसले भारतीय योजनामा चलिरहेका मधेसी मोर्चाका दलसँग सकारात्मक बन्नै लागेको वातावरण पनि विग्रिएको बुझाइ एमालेको छ ।
मधेसी मोर्चाका नेताहरुले गृहमन्त्री बस्नेतको रवैयाका कारण अब वार्ता वार्ता भंग हुने धम्की एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोनमार्फत् दिएका छन् ।












